नीजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्छः अर्थमन्त्री शर्मा

नीजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्छः अर्थमन्त्री शर्मा
बुधबार, मंसिर ८, २०७८

काठमाडौं – नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताए । अर्थमन्त्री शर्माले नीजि क्षेत्रका केही ब्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम नीजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले कोभिडपछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको अर्थमन्त्री शर्माले स्वीकार गरे ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको पनि बताए । उनले अब सरकारसँग मिलेर नीजि क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरे । त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकाले अहिले बजारमा तरलताको अभाव नभएको बताए । गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए । उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकाले पनि तरलताको समस्या देखिएको बताए ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए । उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए । उनका अनुसार अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ । यसरी चाप पर्दा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतमा रहने अनुमान गरिएको समेत उनले बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए । अध्यक्ष गोल्छाले सरकारका तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको बताए ।

त्यस्तै, अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताए । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताए । एमसीसीले देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताए ।