भोलि सार्वजनिक यातायात बन्द गर्नेबारे पार्टीसँग कुनै पनि छलफल भएको छैनः योगेश भट्टराई

भोलि सार्वजनिक यातायात बन्द गर्नेबारे पार्टीसँग कुनै पनि छलफल भएको छैनः योगेश भट्टराई
बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए ।

भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको बताउँदै अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी समेत दिएका छन् ।

उनका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् ।

यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए ।

उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाना र बस्नको व्यवस्था गरिएको र सबै प्रतिनिधिहरूलाई भोलि नै परिचय पत्र वितरण गरिने र पर्सी ११ बजेबाट बन्द सत्र सुरु हुने उनको भनाइ छ ।

त्यस्तै, महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे सात करोड खर्च हुने पनि उनले बताए ।