Mon Jan 17 2022
मुख्य खबर

भोलिदेखि राप्रपा महाधिवेशन हुँदै, अध्यक्षमा कमल र राजेन्द्रबीच प्रतिस्पर्धा

ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधवारबाट काठमाडौंमा महाधिवेशन शुरू हुँदैछ ।

‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् ।

थापाले सोमवार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउँदै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे ।

नेतृत्वका लागि नेता लिङ्देनले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रय मध्येका थापा बाहेकका २ पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् ।

उनीहरू मैदानबाहिर रहँदा समर्थन भने कसलाई दिन्छन् भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।

जबराले पार्टी एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै आफू भने नेतृत्वमा नभिड्ने सन्देश दिइसकेका हुन् । ‘उहाँले म उठ्दिनँ भनेर भनिसक्नुभएको छ, उहाँ एकता प्रयासमा हुनुहुन्छ, सहमतिबाटै नेतृत्व चयन गर्ने जोड हो,’ जबरानिकट स्रोतले भन्यो । तर अर्का अध्यक्ष लोहनीले पनि अध्यक्षका उम्मेदवार लिङ्देनलाई सघाउने वचन दिइसकेका छन् ।

उनले मंगलवार बिहान ११ बजे जमलस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमै लिङ्देनलाई सघाउने घोषणा समेत गर्दैछन् ।

लोहनीनिकट नेता जनकराज पाठकले नयाँ पुस्तामा पार्टी नेतृत्व सुम्पिन लोहनी तयार भएको र लिङ्देनलाई सघाउने जानकारी दिएका हुन् ।

राप्रपा महाधिवेशन भोलिबाट शुरू भएर मंसिर १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

महाधिवेशनमा देश तथा विदेशबाट गरी नेतृत्व चुन्ने प्रक्रियामा ४५ सय प्रतिनिधि सहभागी हुने छन् ।

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी ९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

यो समाचार राजधानी दैनिकमा छ ।