Tue Jan 18 2022
मुख्य खबर

नेपाली कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न, संस्थापन पक्षको वर्चस्व

नेपाली कांग्रेसले दुइ नम्वर बाहेकका प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । प्रदेशमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । अधिवेशन सम्पन्न भएका ६ प्रदेशमध्य २ वटा प्रदेशमा मात्र संस्थापनइतर पक्षले सभापति जितेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी हुनुभएको छ । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्नुभएको हो । पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन ।दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ र संस्थापन पक्षका राजु खनाल विजयी भएका छन ।

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी हुनुभएको छ । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराउनु भएको हो । थापाले ८४४ र घिमिरेले ८४२ मत पाउनु भएको छ । पदाधिकारीमा एक महामन्त्री बाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।

यस्तै कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनुभएको छ । यस्तै वागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी हुनुभएको छ । सुदूरपश्चिमको सभापतिमा वीरबहादुर बलाएर विजयी हुनुभएको छ । उहाँ संस्थापन पक्षका हुनुहुन्छ । यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी हुनुभएको हो ।

गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र जितेको छ । ६ वटा प्रदेशमा चुनाव सम्पन्न भएको भएपनि प्रदेश नम्बर दुईमा भने केन्द्रीय महाधिवेशनअघि प्रदेश अधिवेशन नहुने निश्चित भएको छ । दुई नम्बर प्रदेशमा प्रदेश अधिवेशन कहिले हुने भन्ने टुंगो समेत लागेको छैन ।