Sat Jan 22 2022
अन्तर्राष्ट्रिय

हालका खोपले कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्छः डब्लुएचओ

कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको बताएका छन । तर डब्लुएचओका डाक्टर माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए ।

ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ । डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने प्रारम्भीक तथ्यहरुले देखाएको उनले बताएका छन । खोपले कम्तीमा पनि गम्भीर बिरामी हुनबाट रोक्ने देखिएको डा. रायनले बताए । दक्षिण अफ्रिकामा भएको अनुसन्धानमा कोरोना भाइरसको सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता ४० गुणा कम देखिएको छ ।

तर ओमिक्रोनविरुद्ध पनि काम गरेको भने देखिएको छ । डब्लुएचओले काम गरिरहेको बताए पनि वैज्ञानिकहरुले भने ओमिक्रोनले हालको खोपलाई छल्न सक्ने सम्भावना भने रहेको बताउँदै आएका छन ।