Tue Jan 18 2022
मुख्य खबर

देउवा–सिटौलाबीच सहमति, महामन्त्री र सहमहामन्त्रीमा लेनदेन !

पाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेस भित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एकठाउँ उभिने सम्भावना बढेको छ ।

महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् तर सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।

सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको छ ।

थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने २ नेताबीच सहमति बनेको छ । सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरु विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले भने ।

सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । उनलाई देउवाले आफ्नो समूहबाट उपसभापतिमा बस्न पटक–पटक आग्रह गर्दै आइरहेका छन् तर उनी भने आफू बाहिरै बसेर सघाउने र आफ्नो टीमबाट युवाहरूलाई अघि बढाउने भन्ने मनस्थितिमा छन् ।

तर सिटौला समूहभित्र पनि कि सभापतिमा आफ्नो टीम बनाएरै लड्न नभए उपसभापतिमा बसेर भए पनि नेतृत्वमा रहन सिटौलालाई निकटका नेताहरूले समेत सुझाइरहेका छन् । यो अवस्थामा सिटौला उपसभापतिमा बस्न तयार हुँदा समेत पौडेललाई महामन्त्रीमा नै राख्ने उनको योजना छ ।

‘सिटौलाजी आफू उठ्नेभन्दा पनि आफ्ना टीमका साथीहरूलाई टीममा पार्ने योजना र रणनीतिमा हुनुभएको देखिन्छ तर उहाँ उपसभापतिमा रहने अवस्था आए पनि प्रदीपजीलाई भने महामन्त्रीबाट ब्याक नहटाउने उहाँको मनस्थिति छ,’ सिटौला निकट अर्का एक नेताले भने । सिटौला र देउवाबीच कसरी अघि बढ्ने भन्ने विषयमा ‘वान टु वान’ वार्ता हुने बताइएको छ ।

सिटौला समूहबाट उम्मेदवारको नाम भने नेता पौडेलसहित केन्द्रीय सदस्य शिव हुमागाईं र काठमाडौंका नेता गौरी दवाडीले तयार गरिरहेका छन् । उनीहरूले सातै प्रदेशमा रहेका आफ्ना समूहका नेताहरूसँग पनि परामर्श लिइरहेका छन् ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार शनिवार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

देउवा र सिटौला समूहबीच धेरैजसो स्थानमा तल्ला तहका अधिवेशनमा पनि सहकार्य भएको थियो । सहकार्यबाटै सिटौला समूहले १ नम्बर प्रदेशको सभापति हात पारेको थियो भने बागमतीमा सिटौला समूहको साथ पाएर देउवा समूहले सभापति पद जितेको थियो ।

कांग्रेसको १३औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला भिडेका थिए । दोस्रो चरणमा भने देउवालाई सिटौलाको समर्थन थियो । त्यसबखत पहिलो चरणमा देउवाले १ हजार ५६४, पौडेलले १ हजार १६० र सिटौलाले ३२४ मत ल्याएका थिए ।

दोस्रो चरणको प्रतिस्पर्धामा भने सिटौलाको सहयोगबाट देउवाले १ हजार ८२२ मत ल्याएर सभापतिमा निर्वाचित बन्दा पौडेलले १ हजार २९६ मत ल्याएका थिए । १३औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई १४औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारका रूपमा हेरिएको थियो ।

यो समाचार राजधानी दैनिकमा छ ।