Mon Jan 17 2022
देश

दाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १६ जना घाइते

दाङ– दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका ४ की साउनी घर्ती रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् ।

घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ ।