Wed Jan 26 2022
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकी राष्ट्रपति रामफोसामा कोरोना संक्रमण पुष्टि

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार उनलाई कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण भएको हो ।

उनमा सामान्य लक्षण देखिएको र उनको उपचार भइरहेको छ । राष्ट्रपति रामफोसाले पूर्ण रूपमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

उनको आइतबार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सैनिक अस्पताल केप टाउनमा लगिएको थियो । अहिले उनी अस्पताल परिसरमै आइसोलेसनमा रहेको अलजजिराले जनाएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिने क्षमता रहेको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । हाल विश्वका दर्जनौँ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ ।

यसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको छ । यसअघि भारतमा देखिएको डेल्टा भेरियन्ट निकै संक्रामक रहेको थियो ।

सोही भेरियन्टका कारण धेरै मुलुकमा दोस्रो तथा तेस्रो लहरको कोरोना महामारी फैलिएको थियो । यद्यपि ओमिक्रोन भेरियन्टको गम्भीर लक्षण हालसम्म पाइएको छैन ।