Sun Jan 16 2022
देश

ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको डब्ल्यूएचओको गुनासो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन फैलिने दर तीव्र भएकाले यसबाट सर्तक रहन आग्रह गरेको छ ।

नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने भन्दै डब्ल्यूएचओले चेतावनी दिएको हो ।

यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले आग्रह गरेका छन् ।

कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको देखेको उनको भनाइ छ ।

‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ । ओमिक्रोनबाट कम घातक संक्रमण होला तर संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।’, जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ।

गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही मानिसहरुले ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको गुनासो सकेत गरेका छन् ।

अबका केही दिनमै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने संकेत देखिएको पनि बताए ।

ओमिक्रोन पुष्टि हुनासाथ केही देशहरुले बुस्टर डोजका लागि कोरोना भाइरसविरुद्धको खोप थुपार्न थालेकोप्रति गेब्रेयससले असन्तुष्टि जनाएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा खोपमा देखिएको असमानता हटेपछि मात्रै महामारी अन्त्य हुने बताए ।

तर डब्ल्यूएचओ बुस्टर डोजको विरुद्धमा नरहेको प्रष्टीकरण उनले दिए ।