Sun Jan 16 2022
अन्तर्राष्ट्रिय

ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा

एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बईमा ओमिक्रोन संक्रमण फेला परेपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो ।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ ।

समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ ।

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन् ।