Wed Aug 17 2022
Breaking News

काग्रेस महामन्त्री शर्मा भन्छन : पार्टी भित्र रुपान्तरणको सन्देश दिनु छ

काठमाडाैँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ ।

कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताउनुभयो ।

“देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भन्नुभयो ।

कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उहाँले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गर्नुभयो । तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसक्नुभएका उहाँले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।