Mon Jan 17 2022
खेलकुद

खेलाडी विवादले नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित

काठमाडौं । खेलाडी विवादसँगै आज देखि हुने भनिएको नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित भएको छ ।

अनुशासनको कारण पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेपछिको तरंगले खेलाडीको बन्द प्रशिक्षण प्रभावित भएको हो ।

गत बुधबार क्यान बोर्ड बैठकले आज देखि पोखरामा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने जनाएको थियो ।

तर ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद गुमेको थियो ।

त्यस्तै यी दुई खेलाडीसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिनामा ग्रेडमा नराख्ने निर्णय लिएपछि केहि क्रिकेट खेलाडीको समूहले विरोध जनाउँदै आएका छन् । शुक्रबार उक्त चार खेलाडीले पत्रकार सम्मेलन गर्दै कारबाहीको निर्णयमा पुन विचार गर्न आग्रह गरेका थिए ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासको अनुसार बन्द प्रशिक्षण आज देखि नहुने नश्चित भएको छ ।

खेलाडी विवाद र प्रशिक्षक पुबुदु दसानायके नेपाल आउन केहिदिन ढिलो हुने भएपछि बन्द प्रशिक्षणपनि ढिलो हुने भएको छ । नेपालले फेब्रुअरीमा ओमानमा आइसिसी टि२० ग्लोबल विश्वकप छनोट खेल्नेछ ।

आठ टोली सम्मिलित ग्लोबल टि२० विश्वकप ए छनोटमा नेपाललाई अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा रहनुपर्छ ।

नेपाल, आयरल्यान्ड, ओमान र युएई प्रमुख दाबेदार छन् । उक्त प्रतियोगिता सुरु हुन तीन महिना भन्दा कम समय हुँदा पनि टि २० राष्ट्रिय प्रतियोगिता टुङ्गो लगाउन सकेको छैन ।