Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

बेलायतमा ओमिक्रोनबाट एकैदिन १२ हजारभन्दा धेरै संक्रमित

एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोन संक्रमित भएका हुन् ।

योसँगै बेलायतमा ओमिक्रोनबाट कुल संक्रमितको संख्या ३७ हजार १ सय १ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कोरोना भाइरसबाट भने एकैदिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको संख्या एक करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेकोे छ ।

यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या निकै धेरै भएको छ ।

संक्रमितको तुलनामा मृत्युदर भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको ज्यान गएको छ ।

बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २ सय १८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।