Mon Jan 17 2022
देश

माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ । देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ ।

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएका हुन् ।

सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनबाट ११–१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने प्रवक्ता महराले जानकारी दिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिरहेका बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने र राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए ।

१५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाण्डु छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।

माओवादीको राष्ट्रिय सम्मेलन ११ पुसबाट सुरु हुँदैछ ।