Thu Aug 18 2022
देश

सुर्खेतकको एक मात्र संस्कृत गुरुकुल विद्यालयको अवस्था दिनानुदिन खस्किँदै

डिलबहादुर खत्री, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको जिल्लाको एक मात्र संस्कृत गुरुकुल विद्यालयको अवस्था दिनानुदिन खस्किँदै गएको छ ।

धार्मिक संस्थाको अग्रसरतामा वि.सं. २०७३ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट अनुमति गुरुकुल आर्थिक चपेटामा परेको छ ।

पाँच जना जनशक्तिको भरमा सञ्चालनमा रहेको गरुकुल पछिल्लो समय आवश्यक जनशक्ति र भौतिकपूर्वाधारको अभावले विद्यालयको अस्तित्व संकटमा परेको हो ।

सुर्खेत जिल्ल्लाको एक मात्र गुरुकुल विद्यालय आवश्यक जनशक्ति तथा भौतिकपूर्वाधारको अभावले संकटमा परेको छ ।

धर्म, संस्कृति तथा संस्कृत भाषाको संरक्षण र उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको गुरुकुल विद्यालयमा हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

कक्षा ४ सम्म सञ्चालन भएपनि पर्याप्त शिक्षक कोटा नहुँदा मुठ्ठीदान र चन्दाको भरमा सञ्चालन भएको विद्यालयको नियमित आम्दानी नहुँदा समस्यामा परेको हो ।

दिनानुदिन गुरुकुलको अवस्था नाजुक हुँदै गएको भन्दै सरकारले सम्बोधन गरि दिन गुरुकुलका संरक्षक गुरुप्रसाद खरालको आग्रह छ गरे ।

गुरुकुल शिक्षा अध्ययन गर्दा सम्भावना र अवसर बढी भएकाले गुरुकुलमा कर्णालीलगायत सुदूरपश्चिम प्रदेशका विद्यार्थी समेत आउने गरेको गुरुकुलका प्रधानाध्यापक बासुदेव (शर्मा) खनाल बताए ।

गुरुकुल विद्यालयमा संस्कृतसँगै अन्य पाठ्यक्रम पनि पढाई हुने गरेको छ । तीन जना शिक्षक, एक जना कार्यालय सहयोगी र एक जना भान्सेसहित पाँच जना कर्मचारी आश्रममा रहेका छन् ।

कर्मकाण्ड पढ्नका लागि प्रायःजसो अनाथ, विपन्न बालकहरु आउने गरेको विद्यालयले जनाएको छ ।

गरुकुलमा बस्ने छात्रहरुका लागि निःशुल्क बसाई व्यवस्थापन गर्ने गरिएको छ ।

पछिल्लो समयमा गुरुकुल विद्यालय र शिवधामलाई धार्मिक पर्यटन विकासका लागि समेत सबैले चाँसो दिएपनि आवश्यक सहयोग प्राप्त हुन नसक्दा विद्यालय समस्यामा पर्दै जान थालेको हो ।