Mon Jan 17 2022
प्रदेश २

कांग्रेस प्रदेश २ अधिवेशन : पाँच सदस्य निर्विरोध

जनकपुर- धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एकरएक जनाको मात्र उम्मेदवारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।

त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताए । प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत बाँकी पदका लागि २:३० बजेपछि मतदान भइरहेको छ ।

पार्टीको प्रदेश २ को नयाँ नेतृत्वका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादव र प्रदेश– २ संसदीय दलका नेता रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश समितिको विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेद्वारी परेको छ । जसमध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का ८ जिल्लाको ३२ सङ्घीय निर्वाचन क्षेत्र र ६४ प्रदेश निर्वाचन क्षेत्र समेत गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।