Mon Jan 24 2022
देश

सँगै सुतेका तीन साथीमाथि रड प्रहार

काठमाडौँ । रोल्पामा सँगै सुतेका तीन जना साथीमाथि रड प्रहार भएको छ ।

तास खेलेर सँगै सुतेका तीन साथीमाथि एक जनाले रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा रहेको ‘होलेरी गेष्ट हाउसमा’ बास बसेको तीन जनामाथि राति निदाएको समयमा आफ्नै साथीले रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरी जनाएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर एउटै कोठामा सुतेका तीन साथीमाथि रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा सँगै सुतेका साथीमाथि टेकबहादुरले रड प्रहार गरेको खुलेको छ।

रड प्रहारबाट रुन्टीगढी ७ का ३९ वर्षीय सरोज पुन, ४२ वर्षीय भीमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय मैतबहादुर बिक घाइते छन्।

उनीहरु दुई–तीन दिनदेखि जंगलमा बसरे तास खेलेका प्रहरीले जनाएको छ । घाइतेमध्ये थापा र विकको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

तीनै जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको अनुहार र टाउकोमा चोट छ। घटनास्थलबाट रडसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

रड प्रहार गरेकोबारे सुरूमा अस्वीकार गरे पनि पछि वलीले घटना घटाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

उनले आफूसँग १६–१७ हजार मात्रै पैसा भएकोले कम दाउ हानेकोसमेत बयान वलीले दिएका छन् । घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार हातखोला भन्ने ठाउँबाट पक्राउ गरेको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।