Thu Jan 27 2022
समाचार

कास्कीको नौडाँडामा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

पोखरा । कास्कीका गएराति सवारी दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा भएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कूटर उक्त स्थानमा रोकेर राखेको सवारी साधन बोक्ने ट्रेलरमा ठोक्किँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार गएराति ११ः५५ बजे सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।