Thu Oct 6 2022
अन्तर्राष्ट्रिय

म्यानमारको खानीमा पहिरो जाँदा एकको मृत्यु, ७० जना वेपत्ता

एजेन्सी । उत्तरी म्यानमारस्थित जेड खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

कचिन राज्यको हापाकान्त क्षेत्रमा बुधबार बिहान पहिरो गएको छ । खानीको बाहिरी भागमा अत्याधिक ढुङ्गा र माटो थुपार्दा पहिरो गएको हुन सक्ने बताइएको छ ।

पहिरोमा परी खानीको तलतिर रहेको तालमा रहेका दर्जनौं मानिस पुरिएको आशंका गरिएको छ । पहिरोमा परी कम्तिमा १ जनाको मृत्यु भएको छ । त्यस्तै, ७० जना हराइरहेका छन ।

हाल उक्त क्षेत्रमा उद्वार तथा खोजी कार्य जारी रहेको स्थानीय अधिकारीले बताएका छन । हापाकान्त क्षेत्रमा केही समयअघि गएको पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, गत वर्ष समेत सोही क्षेत्रको एक खानीमा गएको पहिरोमा परी १६० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त पहिरोमा ज्यान गुमाउनेमध्ये अधिकांश आप्रवासी थिए ।