Sat Jan 22 2022
देश

प्रहरीकै मोटरसाइकल चढेर कैदी फरार

दाङ । दाङमा प्रहरीकै मोटरसाइकल चढेर एक कैदी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट प्रहरीकै मोटरसाइकल चढेर भागेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेमा अनुसार घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएका हुन् ।

उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए ।

उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।

घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ ।

चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।