Fri Jan 28 2022
मनोरञ्जन

‘बिग बोस’को नाममा ठगीधन्दा

मुम्बई (बलिउड लाइफ)– टेलिभिजन रियालिटी शो ‘बिग बोस’का निर्माताहरु यतिबेला तनावमा छन् । खासगरी यो शोको नाममा ठगीधन्दा चलेपछि उनीहरु तनावमा देखिएका हुन् ।

यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ । यी शोमा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन् ।

यहीबीचमा ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको छ । केही व्यक्तिले ‘बिग बोस जम्मु’ नामबाट एक शो चलाउने सम्पूर्ण तयारी पुरा गरेका छन् । यो बारे थाहा पाएपछि ‘बिग बोस’ निर्माता एण्डोमोल शाइन प्रोडक्सनले पत्रिकामा स्पष्टीकरण पत्रको सूचना नै निकालेको छ ।

‘बिग बोस हाम्रो ट्रेडमार्क हो र हामीलाई केही व्यक्तिले बिग बोस जम्मू नामबाट एक शो शुरु गर्न लागेको खबर आएको छ । यो शो हामीसँग कुनै पनि किसिमले सम्बन्धित छैन । हाम्रो अनुमति बिना नै बिग बोसको नाम प्रयोग गर्नु गैर कानूनी हो । हामी आम मानिसहरुलाई यस्तो शोमा सहभागिता नजनाउन अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।