Sun Jan 16 2022
अन्तर्राष्ट्रिय

ओमिक्रोनका कारण विश्वभर हजारौं उडान रद्द

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण क्रिसमसको बेला विश्वभर लाखौं मानिसहरूले यात्रा अवरोधको सामना गर्नु परेको छ ।

न्धको एक वेबसाइटका अनुसार विश्वभरि हजारौं उडानहरू रद्द गरिएका छन् । इटाली, स्पेन र ग्रीसले फेरि घर बाहिर निस्कँदा मास्क अनिवार्य बनाएका छन् ।

उत्तरी स्पेनको क्याटालोनियाले रातको समयमा कर्फ्यू लगाएको छ । नेदरल्यान्ड्समा कडा प्रतिबन्धात्मक व्यवस्था जारी गरिएको छ ।

ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा हल्का छ भन्ने प्रारम्भिक निष्कर्षहरू आएको भए पनि वैज्ञानिकहरू संक्रमितहरुको बढ्दो संख्याबाट चिन्तित छन् ।

बिहीबार बेलायत, फ्रान्स र इटालीमा संक्रमणको नयाँ रेकर्ड बनेको थियो । अमेरिकामा, दैनिक ओमिक्रोनका केसहरू पछिल्लो डेल्टा लहरको चरम सीमाभन्दा पनि बढेको छ ।

देशभरका अस्पतालहरू बिरामीले भरिन थालेका छन् । अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ, डा एन्थोनी फाउचीले क्रिसमस यात्राले पूर्ण खोप लगाइए पनि कोरोनाको संक्रमण फैलावटलाई रोक्न नसक्ने चेतावनी दिएका थिए ।

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकन एयरलाइन्सले चालक दलका सदस्यहरुमा गर्नु पर्ने कोरोना परीक्षणणबाट कर्मचारी अभावको स्थितिको सामना गर्नु परेको बताएका छन ।

अष्ट्रेलियामा पनि चाडपर्वको यात्रामा हजारौंको संख्यामा असर परेको छ भने सिड्नी र मेलबर्नबाट अन्य सहरका सयभन्दा बढी आन्तरिक उडानहरू रद्द भएका छन् ।