Fri Jan 28 2022
देश

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी मुख्यालय पेरिस डाँडामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम राष्ट्रिय सम्मेलनका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल र अध्ययन हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ ।

प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको जानकारी दिए ।

जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहने जनाइएको छ । त्यसैगरी, यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संख्या पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

त्यस्तै पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका छन् ।

अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष दाहालले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा पेश गरे ।