Sun Jan 16 2022
देश

धरानको बीपी अस्पतालमा बिरामीको चाप बढ्यो, निमोनिया र श्वासप्रश्वासका बिरामी बढी

धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिसोका बिरामीको चाप बढेको छ ।

पछिल्लो समय मौसम परिवर्तन भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाटी खस खस गर्ने र खोकी ज्यादा लाग्ने लगायतका समस्या भएका बिरामीको चाप बढेको हो । चाप बढेकै कारण अहिले प्रतिष्ठानमा बिरामीले सहज रूपमा उपचार गर्न कठिनाइ भएको छ ।

पानीमा दूषित पदार्थ बढी हुने, ६० प्रतिशत बिरामी चिसोकै कारण निमोनिया, भाइरल बिरामी भएर उपचारका लागि अस्पताल आउने गरेको पाइएको छ ।

ज्वरो अत्यधिक आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका जोर्नी दुख्ने, कमजोरी हुने, रिङ्गटा लाग्ने कसै कसैलाई वान्ता समेत हुने बिरामीहरू उपचारमा आउने गरेको चिकित्सकहरूले बताएका छन् ।

गर्मी सकिएर जाडोको मौसम आएसँगै विशेष गरेर बच्चा र बृद्धबृद्धाको चाप अत्यधिक भएको प्रतिष्ठानका चिकित्सक बताउँछन् । चिसोका कारण बच्चामा निमोनिया तथा बृद्धबृद्धामा श्वासप्रश्वासको समस्या देखिने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन ओपिडीमा उपचारार्थ चिकित्सहरुको भनाई छ ।

चिसोको समयमा बच्चाहरूमा रुघा खोकी, दम, भाइरल ज्वरो, हेपाटाइटिस ए, म्यादी ज्वरो सँगै डेंगु पनि हुन सक्ने भएकोले बालबालिकाको हेरचाहरमा विशेष ध्यान पुर्‍याउनुपर्ने डाक्टरहरुको सुझाव छ ।

यसमा पनि ७० प्रतिशत बिरामी बच्चा र वृद्धा हुने गरेको छन् । अत्यधिक भीडकै कारण उपचारमा आउनेहरूलाई समस्या हुने गरेको छ ।

यसबाट बच्च सावधानीबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाई छ ।