Mon Jan 17 2022
Breaking News

प्रचण्डले ओलीलाई फोन गरेर दिए निम्ता

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् ।

पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा ओलीलाई आफै फोन गरेर अतिथिको रुपमा निम्ता गरेका गरेका हुन् ।

प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।

एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् । तर नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा दुई नेता पहिलोपटक सँगै देखिएका थिए ।

एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।

माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ ।
आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।