Thu Jun 30 2022
देश

यो साता चिसो अझै बढ्ने, पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ ।

पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ ।

देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एकरदुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।

देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

पहाडी भूभागको एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।