Wed Aug 10 2022
मुख्य खबर

भारतमा बेपत्तालाई कसले खोजिदिने ?

कञ्चनपुर — ३० वर्षीय नम धामी छिमेकीसँंगै कामको खोजीमा भारत हिमाञ्चलको सिमला हिँडे । तिहार मनाएर हिँडेका उनले ‘नयाँ वर्षमा फर्किन्छु’ भनेका थिए ।

उनीसंँगै गएका छिमेकी नयाँ वर्षमा घर फर्किए । तर उनी फर्केनन् । त्यसयता २० वटा नयाँ वर्ष बितिसकेका छन् ।

भारतमा बेपत्ता छोराहरूको तस्बिर देखाउँदै कञ्चनपुरको दोधारा चाँदनीकी गुल्टी धामी ।

परिवारले संँगै गएका गाउँलेसँंग सोधपुछ गर्दा उनी अर्कै ठाउँमा काम गर्न गएका भन्थे । नमको अत्तोपत्तो नभएपछि त्यो ‘अर्कै ठाउँ’ मा खोजी गर्न उनका भाइ धनबहादुर र पदम पनि भारततिर लागे ।

दिल्लीसम्म पुग्दा उनीहरू परिवारको सम्पर्कमै थिए । त्यसपछि एकाएक सम्पर्कविहीन बने । ‘बाँच्या छन् कि मर्‍या छन्, केही पत्तो छैन,’ तीन छोरा भारतमै बेपत्ता भएपछि चिन्तित बनेकी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटकी ७५ वर्षीया गुल्टी धामीले भनिन्, ‘साथै गयाका सबै घर फर्क्या, मेरा छोरा फर्केनन् ।’ जेठो छोरा नम विवाहित हुन् भने अरू अविवाहित । नमको छोरा र श्रीमती अहिले सिमलामै मजदुरी गर्छन् ।

गुल्टीले बेपत्ता छोराहरूको खोजी गर्न देवर मदन धामीलाई दिल्ली र सिमलासम्म पनि पठाइन् । तर केही पत्ता लागेन । ‘सकेजति सबै गरेँ, छोराहरू कहीँ भेटिएनन्,’ उनले भनिन्, ‘ज्योतिषीलाई हेराउँदा छोराहरू फर्किन्छन् त भनेका छन् ।’

तीन सन्तान बेपत्ता बनेपछि सरकारी स्तरबाटै खोजीको पहल भइदिए हुन्थ्यो भन्ने उनको आस छ । उनका ६ छोरामध्ये एउटाको सानैमा मृत्यु भयो । तीन जना बेपत्ता भए, दुई भाइ अहिले पनि रोजगारीकै लागि दिल्लीमा छन् । गुल्टीको परिवार सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट यहाँ बसाइ सरेको हो । उनका श्रीमान् चन्द्रवीरको १५ वर्षअघि मृत्यु भइसकेको छ ।

अहिले पनि सुदूरपश्चिमबाट रोजगारीको प्रमुख गन्तव्य भारत नै हो । उत्तराखण्ड र हिमाञ्चलका पहाडी क्षेत्रमा पटके रोजगारीका लागि ठूलो संख्यामा युवासंँगै पाकाहरू पनि जाने गरेका छन् । यसबाहेक दिल्ली, मुम्बई, बैंग्लोरलगायत ठूला सहरमा समेत ठूलो संख्यामा नेपाली मजदुरीका लागि पुगेका छन् ।

तर, सबै फर्कंदैनन् । उनीहरूको खोजीका लागि आफन्तले सकेसम्म प्रयास गर्छन् तर सरकारी स्तरबाट कुनै पहल भएको देखिँदैन ।

‘कसले गरिदिन्छ र हाम्रा मान्छेको खोजी ?’ कञ्चनपरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँकी प्रियंका काफ्लेले भनिन्, ‘काम खोज्न गएका बुबा १२ वर्षदेखि भारतमै बेपत्ता भए, कहाँ छन्, कस्तो अवस्थामा छन् केही पत्तो छैन ।’

उनका बुबा शिवराज दिल्लीमा चौकीदारी गर्थे । चाडपर्वका र खेतीपातीका बेला घर फर्किन्थे । हाल उनका साना छोरी र श्रीमती मात्रै छन् । ‘६ महिना, वर्ष दिनमा बुबा घर आउनुहुन्थ्यो, त्यसैबाट सबै खर्च चलेको थियो,’ प्रियंकाले भनिन्, ‘बुबा बेपत्ता भएपछि एकातिर उनकै चिन्ता, अर्कोतिर घरपरिवार चलाउने चिन्ता ।’ बेपत्ता बुबाको खोजीका लागि सरकारी स्तरमा भने कुनै प्रयास नगरेको उनले बताइन् ।

कामको खोजीमा भारत पसेकाहरू धेरैजसो पुरुष छन् । बेपत्ताको चिन्ता एकातिर छ भने घरपरिवार जिम्मेवारी महिलाको काँधमा थपिएको छ । आर्थिकसंँगै सामाजिक रूपमा समेत बेपत्ताका परिवार संघर्ष गरिरहेका छन् ।

बेपत्ताका नाममा रहेको जमिन न उनीहरूले बिक्री गर्न सकेका छन्, न त बैंकहरूमा राख्न । ‘लामो समयदेखि आफन्त बेपत्ता हुँदा आश्रित परिवार दोहोरो मारमा परेका छन्,’ भारतमुखी आप्रवासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले भने, ‘एकातिर आफन्त हराउनुको पीडा, अर्कोतर्फ आम्दानीको स्रोत गुमेको छ ।’

उनका अनुसार २०र२५ वर्षसम्म श्रीमान् बेपत्ता भएकाहरू एकल भएर सामाजिक सुरक्षा भत्ता लिन सक्ने अवस्थामा समेत छैनन् । ‘एकल भन्न मृत्युको प्रमाण छैन, न भनौं श्रीमान् आफूसंँगै छैनन्,’ उनले भने, ‘उनीहरू ठूलो पीडा सहेर बसेका छन् ।’ निड्स नेपालले गरेको एक अध्ययनअनुसार कञ्चनपुरको दुई पालिकामा मात्रै ९१ जना बेपत्ता छन् ।

महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका ५४ र पुनर्वास नगरपालिकाका ३७ जना बेपत्ता भएको ५ वर्षअघिको अध्ययनले देखाउँछ ।

सानैमा रोजगारीका लागि भारत पस्ने र पछि उतै हराउने गरेको निड्सको अध्ययनले देखाएको छ । यसबाहेक कतिपय सामान्य गल्तीमा समेत जेल परेको हुन सक्ने तथा कतिपय यात्राको असावधानीका कारण दुर्घटनामा परी अंगभंग वा मृत्यु समेत भएको हुन सक्ने मडैले बताए ।

चार वर्षअघि दिल्लीस्थित नेपाली दूतावासले भारतका जेलहरूमा ठूलो संख्यामा नेपाली हुन सक्ने अनुमानका साथ हिमाञ्चलको जेलबाट त्यसबारे जानकारी लिन सुरु गरेको थियो ।

बेपत्ता परिवारका आफन्तले प्रहरी वा प्रशासनमा कतै पनि उजुरी गरेका छैनन् । सकेसम्म आफैं सम्बन्धित स्थानमा पुग्ने र नभए आफन्तबाटै सोधीखोजी गर्ने गरेको पाइन्छ । ‘सञ्चार सुविधाको अभावका कारण पनि धेरै नेपाली भारतमा हराएको हुन सक्ने देखिन्छ,’ मडैले भने, ‘कतिपय भारतमै घरजम गरेर नेपाल फर्किन नचाहनेसमेत हुन सक्छन् ।’

भारतमा बेपत्ता भएकाहरूबारे सरकारी स्तरमा कुनै तथ्यांक छैन । न त उनीहरूबारै कुनै खोजबिन नै भएको छ । स्थानीयदेखि प्रदेश र संघीय सरकारले हालसम्म यसबारे कुनै नीतिसमेत बनाउन सकेको छैन ।

भारतमै लामो समय चौकीदारी गरेर फर्केका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहणकै बेला भारतमा रोजगारी गर्न जानेको तथ्यांक संकलनदेखि उनीहरूको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, हालसम्म यसबारे प्रदेश सरकारले ठोस योजना ल्याउन सकेको छैन ।

यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।