Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

ग्रीकको टापुमा आप्रवासी सवार डुंगा दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी । ग्रीकको एक टापुमा रहेको पारोसमा डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

मध्य एसियन सागरमा यसै हप्ता आप्रवासी शरणार्थीहरू सवार डुंगा दुर्घटनामा परेको यो तेस्रो घटना हो ।

रातको समयमा भएका दुर्घटनाका कारण खोजीमा समस्या भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनास्थलमा १२ पुरुष, तीन महिला र एक शिशुको शव फेला परेको बीबीसीले उल्लेख गरेको छ ।

टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।

एसियन सागर ग्रीस, अफ्रिका, मध्यपूर्व र अन्यत्रका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली संघमा जाने मुख्य मार्गमध्येको एक हो ।

तर सन् २०१५ देखि शरणार्थीहरुले सो मार्ग प्रयोग गर्न छाडेका थिए । गत शुक्रबार भएको दुर्घटनामा पनि ११ जना आप्रवासीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बिहीबार शरणार्थी बोकेको डुंगा दक्षिणी निर्जन टापुमा पुगेको थियो । सो डुंगाबाट ९० जनाको उद्दार गरिएको थियो ।