Wed Jan 19 2022
Uncategorized

काठमाडौंको यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ

काठमाडौं – प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना विचौलियालाई पक्राउ गरेको छ ।

कार्यालयमा लाइसेन्स, ब्लुबुक लगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गर्ने सेवाग्राहि जबरजस्ती तानातान गरेको गुनासो आएपछि प्रहरी टोलि गुर्जुधारा पुगेको थियो । प्रहरीले ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।