Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

जापानमा भारी हिमपात: २६ इन्चसम्म हिउँ पर्दा जनजीवन प्रभावित

भारी हिमपातका कारण मध्य जापानको जनजीवन प्रभावित भएको छ । थुप्रै हवाई उडान रद्द भएका छन् भने रेल सेवामा अवरोध उत्पन्न भएको छ । ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार उक्त क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजारभन्दा बढी परिवारहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।

सरकारी अधिकारीहरुले गएराति थप हिउँ परेको बताएका छन् । हिमवर्षा र चिसो मौसमका कारण अहिलेसम्म कसैको ज्यान नगएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले जानकारी दिए । उनले उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको जानकारी दिँदै आज अझै ठूलो हिमपातको सम्भावना रहेको बताए।

सार्वजनिक प्रसारक एनएचके का अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा आज २४ घण्टाको अन्तरालमा २६ इन्च हिउँको सतह बनेको एनएचकेले बताएको छ ।