Thu Jan 20 2022
Breaking News

सिरहामा दुई दिनसम्म निषेधाज्ञा जारी

सिरहामा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ ।जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभएको छ । सिरहाको पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिराहा सडकखण्डको पेट्रोल पम्पसम्म तथा सो मार्गको ५ सय मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन । सो क्रममा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन ।