Mon Jan 17 2022
आर्थिक

नक्कली कर्मचारी देखाएर ३ करोड अनियमितता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर ३ करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको पाइएको छ ।

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर करोडौं रुपैयाँ अनियमितता गरेको फेला पारेको हो ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको भनिए पनि त्यो सबै फर्जी कागजात बनाइएर नियुक्त गरे पाइएको हो ।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७६/७७ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ शाखामा कर्मचारी नियुक्त गरिएको विवरण बनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको समितिले बताएको छ ।

बिमा ऐन, २०६३ अनुसार यस्तो कसुर गर्नेलाई १० हजार रुपैयाँ जरिवाना वा २ वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

कम्पनीका सूचना अधिकारी चिरायु भण्डारीले भने यो विषय आजभन्दा चार वर्ष पुरानो भएको बताए । अहिले बाहिर ल्याइए पनि कम्पनीले प्रक्रिया पुर्‍याएरै कर्मचारी नियुक्ति गरिएको उनको दावी छ ।