Mon Aug 8 2022
देश

देशभर वर्षा, काठमाडौँमा १०.७ मिलिमिटर वर्षा मापन

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भैरहेको छ ।

उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ । काठमाडौँमा मंगलबार वर्षा भएको थिएन ।

बुधबार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।

महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुङ्गामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।