Wed Jan 19 2022
देश

माओवादी महाधिवेशनः समूहगत छलफलको निष्कर्ष आज प्रस्तुत गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तयाभएको छ ।

प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।

प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ ।

बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा पनि प्रस्तुत गरेका थिए ।

दुबै प्रस्तावमाथि मंगलबार दिनभर समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राखेको विज्ञप्तिमा उल्लेख छ ।