जोडिनुहोस
  • होमपेज
  • शीर्ष नेताबीच संसदीय समितिका सभापति चयन गर्न प्रक्रिया अघि बढाउने सहमति

शीर्ष नेताबीच संसदीय समितिका सभापति चयन गर्न प्रक्रिया अघि बढाउने सहमति

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरूले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठन तिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ’ सभामुख देवराज घिमिरेले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरू अगाडि बढ्न सकेका छैनन् ।’

लामो समयदेखि समितिका सभापति चयन हुन नसक्दा महत्त्वपूर्ण विधेयकमाथि छलफल अघि बढ्न सकेको छैन । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए । उनले राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए ।

उनले भने, ‘शीर्ष नेताहरूको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरूको नेतृत्व जुन खालि भएर बसेको छ, त्यसमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको छ । राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका