Tue Jan 18 2022
Breaking News

पुसको झरीले देशभरको जनजीवन प्रभावित, पश्चिमी भागमा बढी वर्षा

काठमाडौं । बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ ।

गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ ।

सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको हो ।

मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

अविरल वर्षा र हिमपातका कारण तापक्रम दर पनि घटेको छ । काठमाडौँको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

धनगढीमा १२ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जमा १२ दशमलव ६ डिग्री सेल्सियस, भैरहवामा १३ दशमलव ३ डिग्री सेल्सियस, सिमरामा १४ डिग्री सेल्सियस, जनकपुरमा १५ दशमलव २ डिग्री सेल्सियस र विराटनगरमा १३ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।