अति दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित काठमाडौँबाट ४ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ३० लाख रुपैयाँमा सो छाला बेच्ने तयारी भइरहेका बेला काठमाडौँको बसुन्धरास्थित मयुर क्याफेबाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका भई काठमाडौँ बस्दै आएका ३९ वर्षीय निरबहादुर घले, सिन्धुपाल्चोकको चौतारा घर भई काठमाडौँ बस्दै आएका २५ वर्षीय सुरेश गिरी, नुवाकोटको शिवपुरी गाउँपालिका घर भई काठमाडौँ बस्दै आएका ३१ वर्षीय कृष्णबहादुर तामाङ र ओखलढुंगाको मानेभञ्ज्यांग घर भई काठमाडौँ बस्दै आएका २९ वर्षीय मोहनकर्ण कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ थान रेड पाण्डाको छाला र मोबाइल बरामद गरेको छ । तस्करबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।