Tue Aug 9 2022
देश

कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, विश्वभर एकै दिन १५ लाख थपिए

काठमाडौं । विश्वभर एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिनेमा अमेरिकामा मात्रै ४ लाख ३८ हजारभन्दा धेरै छन् । त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ ।

यही अवधिमा ५ लाख ६९ हजार निको भएका छन् भने ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ । तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको छ ।