Wed Aug 10 2022
Breaking News

माओवादी बन्दसत्रः महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग

काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले यस्तो माग राखेका हुन् ।

उनले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको उनको भनाई छ ।

उनले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत बताएका छन् ।

उपत्यका विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले पनि प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत समूह छलफलमा आएको जानकारी गराएका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्नुपर्ने बताए ।

समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।