जोडिनुहोस
  • होमपेज
  • एलओडी पुगेकी नाबालिग बलात्कार प्रकरण : सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

एलओडी पुगेकी नाबालिग बलात्कार प्रकरण : सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो ।

यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । कोइरालालाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोइराला र ती नाबालिगबीच क्लबमा नै पहिलोपटक भेटघाट भएको थियो ।

साथीसँग त्यहाँ पुगेको भनिएकी ती नाबालिगले क्लबमा रक्सी पनि पिएकी थिइन् । पछि घर लगिदिने बाहनामा कोइरालाले नाबालिगलाई बिहान ३ः ३० बजे आफ्नो गाडीमा राखेर बागडोलस्थित पश्चिमाञ्चल सोलुसन प्रालिको भाडाको भवनमा लगेका थिए । फाइबर लगायतको काम गर्ने सो कम्पनीमा कोइराला पार्टनरसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यहाँ पुगेपछि कोइरालाले ती नाबालिगलाई पहिले अर्को कोठामा राखेका थिए । तर,  केही बेरपछि कोइराला नाबालिग सुतेकै कोठामा बलात्कार गर्न पुगेका थिए । नाबालिग चिच्याउन थालेपछि कोइराला त्यहाँबाट भागेका थिए । लगत्तै नाबालिगले आफन्तलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि बिहान करिब साढे ४ बजे ती नाबालिगलाई रेस्क्यू गरेको प्रहरीको भनाई छ । फरार रहेका कोइरालालाई सोही दिन पक्राउ गरिएको थियो ।

उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौँ आएको प्रहरी समक्ष बताएकी छन् । यद्यपि, उनी कोसँग र कसरी एलओडी पुगिन् भन्ने चाहिँ उनले हालसम्म खुलाएकी छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका