Mon Jan 17 2022
Breaking News

माओवादी केन्द्रको विधान पारित, पदाधिकारी संख्या बढ्ने

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी संख्या बढ्ने भएको छ। आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान पारित भएको हो।

विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएसँगै विधान पारित भएको हो।

सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको छ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने भएका छन्।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनीत गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।