Thu Aug 18 2022
मुख्य खबर

अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तयारी गरिरहेका छौं : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

अनलाइन पत्रकार संघ, नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताए।

‘अनलाइन सञ्चार माध्यामलाई अन्य सञ्चार माध्यम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ‚’ उनले भने‚ ‘यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ।’

मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई आग्रह गरे। उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्‍याए।

‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने कुरा पनि म यहाँहरुलाई दृढताका साथ निवेदन गर्न चाहन्छु‚’ उनले भने‚ ‘अबको दिनमा अझ परिस्कृत रुपमा अघि बढ्न सकून् भन्ने अपेक्षा गर्दछु। विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरुबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु।’

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए। उनले मुलुकमा दिगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुरक्षित हुने स्पष्ट पारे।