Mon Jan 24 2022
मुख्य खबर

दुर्गा प्रसाईंको आरोप : देशमा भएका सबै उद्योग तथा कलकारखाना कांग्रेसले बेचेको हो

काठमाडौँ । नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनु भएको छ ।

मेडिकल कलेज सञ्चालक समेत रहनु भएका उपप्रमुख प्रसाईँले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताउनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गर्नु भयो ।

उपप्रमुख प्रसाईले भन्नु भयो, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु । जव नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन बैदेशिक रोजगारीका लागि ।’

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु भएको दावी समेत गर्नु भयो । ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उहाँको तर्क थियो ।