Fri Jan 21 2022
Breaking News

सकेसम्म सहमतिमै नेतृत्व चयन हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सहमतिमै केन्द्रीय सदस्य चयन गरिने बताएका छन् । आज बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए । ‘सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ’ उनले भने, ‘सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ उनले जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुने पनि बताए ।

भुगोलबाट सात र एक गैरभौगोलिकबाट गरि ८ प्रदेश भित्र तोकिए कोटाअनुसार ५ बजे प्यानल पेस गरिनेछ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ । प्रज्ञा भवनमा जारी आठौँ महाधिवेशनमा केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।