Wed Jan 19 2022
मुख्य खबर

६० लाख मूल्य बराबरको भन्सार छलीको सामान सहित एकजना पक्राउ

काठमाडौं ।पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं २ का ३३ वर्षीय नसरुदिन मियाँ रहेका छन्।

ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि मियाँलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विशेष सूचनाका आधारमा मियाँले चलाइरहेको ट्रक चेकजाँच गर्दा उनी पक्राउ परेका हुन्।

वीरगञ्ज महानगरपालिका वडा नं २२ स्थित परवानीपुर चोकमा मियाँले चलाइरहेको प्रदेश नं. २-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा उनले लोड गरिएको सम्पूर्ण सामग्रीको बिल बिजक देखाउन नसकेको बस्नेतले जानकारी दिए।

सामग्रीहरु उनले पोखरा लगिरहेको प्रहरीलाई बयान दिएको खनालले बताए। जफत गरिएको सामग्रीमा खुद्रा मालवस्तु र औषधी रहेका छन्।

प्रहरीले जफत गरिएको सामग्रीको मूल्यांकन ६० लाख रुपैयाँ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।