Wed Jan 19 2022
Breaking News

माओवादी महाधिवेशन : सहमतिबाटै नेतृत्व र केन्द्रीय कमिटी चयनको प्रयास जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिबाटै गर्ने प्रयास जारी रहेको छ । केन्द्रीय कमिटी र पदाधिकारी चयन सहमतिकै आधारमा गर्नेगरी छलफल र तयारी भइरहेको बुझिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौँ राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । यस अवधिमा नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमै जोड दिएको र सोबारे नेताहरुबीच छलफल भइरहेको जनाइएको छ ।

शनिबार पनि चुनावी प्रक्रिया नथालेर सहमतिकै लागि दिनभर नेताहरु छलफलमा थिए । आज पनि दिउँसोसम्म यसैमा छलफल तथा तयारी भइरहेको बताइएको छ । अध्यक्ष प्रचण्डले शनिबार बन्दसत्रलाई सम्बोधन गर्दै सहमति जुटाउन आइतबारसम्मको समय दिन महाधिवेशनमा आएका प्रतिनिधिहरु सामु आग्रह गरेका थिए । सोही अनुसार बन्दसत्र आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो ।

अध्यक्ष प्रचण्डले सुरुदेखि नै सहमतिमै नेतृत्व तथा केन्द्रीय सदस्यहरु चयन गनुपर्ने बताउँदै आएका छन् । उनले निर्वाचनमा जाँदा सबै खालका मनोविज्ञानलाई समेट्न नसकिने र यसले पार्टीभित्र एकता कायम नहुने तथा गुटहरुको जन्म हुनसक्नेतर्फ विश्लेषण गरेको बताइन्छ ।

यद्यपि माओवादी केन्द्रले निर्वाचन कार्यतालिका समेत संशोधनसहित सार्वजनिक गरेको छ । यदि सबै कमिटी र पदमा सहमति हुने नसकेमा सम्भावित निर्वाचनको तयारीस्परुप उक्त कार्यतालिका सार्वजनिक गरिएको हो ।