Mon Aug 8 2022
मुख्य खबर

सीके राउतको प्रदर्शनमा झडप, एक प्रहरीसहित ६ जना घाइते

धनुषा – सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ ।

गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् । किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाइएको जनाइएको छ ।

आन्दोलनकारीहरुले भने प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । आन्दोलनकारी सञ्जय कुमार साहले प्रहरी निरीक्षकको नेतृत्वमा गोली प्रहार गरिएको आरोप लगाए । सो क्रममा घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफैँ लगेपछि प्रहरीले चार जना किसानलाई पक्राउ गरेको विरोधमा पुष ९ गतेदेखि जनमत पार्टी आन्दोलनमा छ ।

सो घटनापछि गाउँपालिकामा तालाबन्दीमा उत्रिएको जनमत पार्टीले किसानलाई सहुलियत दिने गरीको पूर्वाधार बनाउनेदेखि मलखाद उपलब्ध गराउनु पर्नेसम्मका सात बुँदे माग राखेको छ ।