Mon Jan 17 2022
देश

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि देशभरबाट दुई हजार २५ जना मतदाताले भाग लिने

काठमाडौं । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख दान गर्नेछन् । निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन् ।

मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ । शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको छ ।

मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुने आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ । आयोगले दिएको जानकारीअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन् ।

सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

यसका लागि गठबन्धनले पार्टीहरूका शीर्ष नेताहरू रहेको समन्वय समिति पनि गठन गरेको थियो ।

दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशहरूबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।