Mon Aug 8 2022
समाचार

शीतलहर सुरु भएपछि पठनपाठन बन्द

पर्सा । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गरी पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रतिज्येष्ठ नागरिकलाई करिब ६ हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ।