Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

अस्ट्रियामा बन्यो अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने नयाँ कानुन

एजेन्सी । मध्य युरोपेली मुलुक अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ। असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन्।

संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्‌ले यस सम्बन्धी कानुन बनाएको थियो।

तर यो अभ्यासलाई कडा नियमन गरिने बताइएको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्नेछ ।

मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजुन भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन्।

आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ। स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन।